शान्ति सम्झौता गराउने उद्देश्यसहित पाकिस्तानमाथि गम्भीर कूटनीतिक दबाब
इरान र संयुक्त राज्य अमेरिकाबीच शान्ति सम्झौता गराउने उद्देश्यसहित पाकिस्तानमाथि गम्भीर कूटनीतिक दबाब परेको छ। विश्व अर्थतन्त्रलाई स्थिर बनाउने लक्ष्य राखिएको यस प्रयासलाई केही कूटनीतिज्ञहरूले ‘अत्यन्त कठिन’ अभियानका रूपमा व्याख्या गरेका छन्।पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरीफले पछिल्ला केही सातादेखि द्वन्द्व अन्त्य गर्ने प्रयासमा सक्रिय कूटनीति सञ्चालन गरेका छन्। इरान र अफगानिस्तानसँगको पश्चिमी सीमामा हालै भएको तनावले स्थिति थप संवेदनशील बनेको छ।
इरानी अधिकारीहरू इस्लामाबाद आइपुगेका छन् भने अमेरिकी प्रतिनिधिमण्डल उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा शुक्रबार राजधानी पुग्ने तयारीमा रहेको छ। शनिबार हुने सम्भावित वार्तामा दुवै पक्षलाई एकै टेबलमा ल्याएर दीर्घकालीन सहमति खोज्ने प्रयास गरिने विश्लेषकहरूको भनाइ छ।
सुरक्षाको दृष्टिले इस्लामाबादमा कडा व्यवस्था अपनाइएको छ। वार्ता हुने भनिएको सेरेना होटल क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिएर खाली गराइएको छ भने आसपासका सडकहरू बन्द गरिएको छ। शहरभर चेकपोइन्ट, गस्ती र सुरक्षा बलको उपस्थितिलाई उल्लेख्य रूपमा बढाइएको छ। हवाई निगरानी र आपतकालीन सेवाहरू पनि तयारी अवस्थामा राखिएका छन्।विश्लेषक कमरान बोखारीका अनुसार पाकिस्तानले इरानमा अस्थिरता बढ्ने अवस्था आउन नदिन खोजिरहेको छ, किनकि त्यसले आफ्नो पश्चिमी सीमामा सुरक्षा संकट झन् गहिरो बनाउनेछ। यस्तै, सुरक्षा विश्लेषक मोहम्मद फैसलले वार्ता असफल भए पाकिस्तानको कूटनीतिक विश्वसनीयतामा असर पर्न सक्ने चेतावनी दिएका छन्।हालै घोषणा गरिएको दुई साताको युद्धविरामअघि वार्ता विफल हुने संकेत देखिए पनि पाकिस्तानको अन्तिम प्रयासले इरानलाई पुनः वार्तामा फर्काएको बताइएको छ। यससँगै पाकिस्तानको भूमिका सन्देश आदानप्रदानबाट अघि बढेर प्रत्यक्ष वार्ता प्रक्रियामा प्रभाव पार्ने स्तरमा पुगेको विश्लेषण गरिएको छ।वार्ताका क्रममा पाकिस्तानले अमेरिकी सहयोगी खाडी मुलुकहरूको चासो र लेबनानमा युद्धविराम विस्तार गर्ने विषय पनि उठाउने अपेक्षा गरिएको छ। यद्यपि, विश्लेषकहरूका अनुसार पाकिस्तानसँग वार्ताको परिणाम सुनिश्चित गर्ने पर्याप्त प्रभाव भने छैन, विशेषगरी होर्मुज जलडमरु पुनः खोल्ने जस्ता महत्त्वपूर्ण विषयमा।
