अभिनेत्री उषा खड्गीले जीपी तिमल्सिनाविरुद्ध जिल्ला प्रहरी भक्तपुरमा जाहेरी दर्ता

Spread the love

पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्ना पूर्वपति एवं सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा औपचारिक जाहेरी दर्ता गराएकी छन्। सोमबार दर्ता गरिएको उजुरीमा उनले अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयास गरेको आरोप लगाएकी हुन्।भक्तपुर प्रहरीले उजुरी प्राप्त भएसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। केही दिनअघि मात्रै उषाले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्दै न्यायको माग गरेकी थिइन्।उषा र जीपीबीच वि.सं. २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदपछि जीपीले दोस्रो विवाह गरिसकेका भए पनि अंशबण्डासम्बन्धी विवाद अझै समाधान नभएको बताइएको छ।उषाले आफ्नो निजी जीवनमा हस्तक्षेप भइरहेको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएकी छन्। यस घटनाले नेपाली मिडिया र ग्ल्यामर क्षेत्रमा नयाँ चर्चा सुरु गराएको छ।