सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण ढंगले सवारी चलाउने चालकविरुद्ध कडा कदम चाल्ने संकेत

Spread the love

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण ढंगले सवारी चलाउने चालकविरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले यस्ता चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।यातायात व्यवसायी तथा मजदूर संगठनका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै उनले पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न नआउने चालकलाई अब छुट नदिने स्पष्ट पारे।उनका अनुसार ट्राफिक व्यवस्थापनको मुख्य उद्देश्य व्यवहारमा सुधार ल्याउनु हो। प्रहरी पनि समाजकै अंग भएको उल्लेख गर्दै उनले कमजोरीहरू सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

एसएसपी अधिकारीले जरिवानाबाट संकलित राजस्व ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यस विषयमा स्पष्ट हुन आग्रह गरे। उनले सार्वजनिक यातायात क्षेत्रमा थोरै खराब व्यवहार भएका चालकका कारण अधिकांश जिम्मेवार श्रमिकहरू बदनाम भइरहेको बताए।यातायात क्षेत्रमा प्रचलित ‘ठेक्का प्रणाली’का कारण चालकहरूले प्रतिस्पर्धात्मक रूपमा तीव्र गतिमा सवारी चलाउने र जोखिमपूर्ण व्यवहार देखाउने समस्या रहेको उनले औंल्याए। यसको विकल्पका रूपमा ई–टिकटिङ तथा अनलाइन प्रणाली अपनाउन व्यवसायीहरूलाई सुझाव दिइएको छ।त्यस्तै, बिहानको समयमा विद्यालय बस तथा सार्वजनिक सवारीका केही चालकले मादक पदार्थ र लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएकाले यसमा कडा निगरानी र कारबाही गरिने उनले चेतावनी दिएका छन्।