महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थी सडकमा

Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थीहरू सडकमा उत्रिएका छन्। बुधबार साँझ अस्कल क्याम्पसबाट निस्किएको र्‍याली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयतर्फ अघि बढ्दै चर्को प्रदर्शनमा रूपान्तरण भएको हो।प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘पोखरेल राजीनामा देऊ’, ‘पार्टी कब्जा गर्न पाइँदैन’, ‘युवालाई अवसर देऊ’ जस्ता नारा लगाएका थिए। उनीहरूले एमाले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सुहाङ नेम्वाङको पक्षमा समेत समर्थन व्यक्त गरेका छन्।रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन महासचिव पोखरेलले दबाब दिएको आरोप लगाउँदै युवाहरूले सामाजिक सञ्जालमा समेत विरोध अभियान चलाएका छन्। सोही असन्तुष्टि सडक प्रदर्शनका रूपमा देखिएको हो।

प्रदर्शनमा सहभागी युवाहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाइएको आरोप लगाउँदै नेतृत्वप्रति आक्रोश पोखेका छन्। उनीहरूले तत्काल महासचिव पोखरेलले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।यस्तै, प्रदर्शनका क्रममा च्यासलस्थित पार्टी कार्यालय अगाडि पोखरेलको पुत्ला दहन गरिएको छ। स्थिति तनावपूर्ण बन्न सक्ने भन्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।युवाहरूले पार्टीभित्र सुधार र नेतृत्व परिवर्तनको मागलाई निरन्तर अघि बढाउने चेतावनी दिएका छन्।