अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग खुला राख्न दबाब बढाउदै
मध्यपूर्वमा युद्धको तनावबीच हर्मुज जलमार्गमा जोखिम बढिरहे पनि इरानले तेल निर्यातलाई निरन्तरता दिएको छ। प्रभावकारी रूपमा मार्ग अवरुद्ध जस्तै अवस्थामा भए पनि करिब ९० वटा जहाजहरूले उक्त मार्ग पार गरिसकेको बताइएको छ। यस क्रममा इरानले ‘डार्क ट्रान्जिट’ अर्थात् लुकिछिपी ढुवानी विधि प्रयोग गर्दै पश्चिमी प्रतिबन्धलाई छल्दै आएको छ।
रिपोर्टअनुसार इरानले मार्च महिनादेखि हालसम्म १ करोड ६० लाख ब्यारेलभन्दा बढी तेल निर्यात गरिसकेको छ, जसको मुख्य क्रेता चीन रहेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १०० डलर नाघेपछि अमेरिका पनि सक्रिय देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग खुला राख्न दबाब बढाउँदै आएका छन्।यस क्षेत्रको सुरक्षा अवस्था अझै संवेदनशील रहेको छ। अहिलेसम्म करिब २० वटा जहाजमाथि आक्रमण भइसकेको जानकारी आएको छ। यद्यपि, भारत र पाकिस्तानका जहाजहरू भने कूटनीतिक वार्तामार्फत सुरक्षित रूपमा मार्ग पार गर्न सफल भएका छन्, जसले क्षेत्रीय संवादको महत्त्वलाई समेत उजागर गरेको छ।
