इरानको नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनेई चयन भएकोप्रति असन्तुष्टि –डोनाल्ड ट्रम्प

Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनेई चयन भएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किरहेका बेला अयातोल्लाह अली खामेनेईका छोरा मोज्तबा खामेनेईलाई सर्वोच्च नेता बनाइएको निर्णयप्रति ट्रम्पले कडा प्रतिक्रिया दिएका हुन्।टाइम म्यागजिनसँगको अन्तर्वार्तामा ट्रम्पले आफू फेरि अर्को खामेनेई नेतृत्वमा आउन नचाहेको बताएका थिए। “म यो सबै सहेर फेरि अर्को खामेनेईसँग अन्त्य गर्न चाहन्नँ,” उनले भनेका थिए। तर त्यसको दुई दिनपछि इरानको विशेषज्ञहरूको सभा (Assembly of Experts) ले ५६ वर्षीय मोज्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको थियो।

सोमबार प्रतिक्रिया दिँदै ट्रम्पले उक्त निर्णयलाई “ठूलो गल्ती” भन्दै आलोचना गरे। उनले नयाँ सर्वोच्च नेता लामो समय टिक्नेमा समेत शंका व्यक्त गरेका छन्। “मलाई थाहा छैन यो कति समय टिक्छ। उनीहरूले ठूलो गल्ती गरेका छन्,” ट्रम्पले भने।यसैबीच ट्रम्पका निकट सहयोगी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले पनि मोज्तबा खामेनेईलाई अमेरिकाले अपेक्षा गरेको परिवर्तन नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत नयाँ नेताले पनि आफ्ना पिताको जस्तै नियति भोग्न सक्ने टिप्पणी गरेका छन्।फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि युद्ध तीव्र बनेको छ। प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईसहित धेरै उच्च अधिकारी मारिएका थिए। त्यसपछि हजारौँ आक्रमणहरू जारी रहँदा इरानमा १,२५० भन्दा बढी मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

इरानले पनि जवाफी रूपमा सयौँ मिसाइल र ड्रोन प्रयोग गर्दै इजरायल र मध्यपूर्वका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको छ। यी आक्रमणका कारण खाडी क्षेत्रमा ऊर्जा पूर्वाधार तथा नागरिक संरचनामा क्षति पुगेको छ र तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलडमरू समेत बन्दजस्तै भएको छ।युद्धका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। यद्यपि ट्रम्पले भने युद्ध लगभग जितिएको दाबी गर्दै इरानबाट “बिनासर्त आत्मसमर्पण” चाहिएको बताएका छन्।तर इरानले भने अमेरिकाको हस्तक्षेप अस्वीकार गर्दै आफ्नो नेतृत्व चयन गर्ने अधिकार इरानी जनताकै भएको स्पष्ट पारेको छ। इरानका संसद् सभामुख मोहम्मद बाघेर घालिबाफले इरानको भविष्य विदेशी शक्तिले होइन, इरानीहरूले नै तय गर्ने बताएका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्पको विरोधले उल्टै मोज्तबा खामेनेईको नेतृत्व चयनलाई इरानभित्र थप बलियो बनाएको हुन सक्छ। उनीहरूका अनुसार बाह्य दबाबको सामना गर्ने राष्ट्रिय स्वाभिमानको मुद्दाले इरानको राजनीतिक प्रणालीलाई अझ एकजुट बनाएको देखिन्छ।