आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही हुने

Spread the love

निर्वाचन आयोग ले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने जो–कोहीमाथि कडा कारबाही हुने स्पष्ट चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले भिडियो सन्देश जारी गर्दै कानुनले निषेध गरेका गतिविधिमा संलग्न भए उम्मेदवारी नै खारेज हुने र दोषीलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने बताएका हुन्।

भण्डारीले मौन अवधिमा ‘जस्केलाबाट हुने गतिविधि’ बढ्ने चर्चा भइरहेकाले आयोग उच्च सतर्कतामा रहेको बताए। “अनियमित र अवैध काम गर्न उद्धत व्यक्तिहरूलाई पहिचान गरी यदि त्यस्तो गतिविधि भएको छ भने आयोगलाई तुरुन्त जानकारी गराउनुस्,” उनले सरोकारवालासँग आग्रह गरे। वस्तुगत प्रमाणका आधारमा उल्लंघन ठहरिए सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेज गर्नेसमेत आयोग पछि नहट्ने उनको भनाइ छ।

सामाजिक सञ्जालको दुरुपयोगप्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत ढंगले सामग्री प्रसारण गरी मतदातालाई प्रभावित गर्न खोजिए स्रोतसम्म पुगेर कारबाही गरिने भण्डारीले स्पष्ट पारे। “त्यस्ता सामग्री हटाउन पटक–पटक आग्रह गरेका छौँ। मौन अवधिमा प्रसारण भए स्रोत पहिचान गरेर कारबाही गर्छौँ,” उनले भने।

आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदातालाई आचारसंहिता कडाइका साथ पालना गर्न आह्वान गरेको छ। यसैबीच, मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ।