९५ जना नेपाली चार्टर विमानमार्फत काठमाडौं आइपुगे

Spread the love

संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकाबाट चार्टर्ड गरिएको विमान बिहान करिब ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेर फर्किएको हो।विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाले एकै उडानमा यति ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरी पठाएको यो पहिलो घटना हो। यसअघि पनि विभिन्न समयमा नेपाली नागरिक डिपोर्ट हुँदै आएका थिए, तर एकै उडानमा ९५ जनाको आगमनले आप्रवासन व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ।अमेरिकी अधिकारीहरूले कानुनी हैसियत नबनाई बसोबास गरेको, अवैध मार्गबाट प्रवेश गरेको तथा भिसा सर्त उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाएका छन्। डिपोर्ट प्रक्रिया अघि बढाउनुअघि नेपालस्थित सम्बन्धित निकायलाई पूर्वसूचना दिने प्रचलन अपनाइएको बताइएको छ।

काठमाडौं आइपुगेपछि डिपोर्ट भएका नागरिकलाई अध्यागमन प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्दै अवैध रूपमा अमेरिका पुर्‍याउने व्यक्ति तथा सम्भावित मानव तस्करी सञ्जालबारे अनुसन्धान सुरु गरेको जनाएको छ।