Wednesday, May 20, 2026

नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल सञ्चालनमा

Spread the love

साइबर अपराध, भ्रामक सूचना तथा डिजिटल सञ्जालमार्फत हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल (एआई–एएसी)’ सञ्चालनमा ल्याएको छ। सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको औपचारिक उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रममा गृहमन्त्री अर्यालले एआई सेलको अवलोकन गर्दै यसबाट गरिने काम, प्रयोग गरिने प्रविधि र यसको उपयोगिताबारे विस्तृत जानकारी लिएका थिए। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका पदाधिकारी तथा प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।पछिल्लो समय बढ्दो साइबर अपराध, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक तथा मिथ्या सूचना, सङ्गठित आपराधिक सञ्जाल, वित्तीय अपराध र सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानले राष्ट्रिय सुरक्षामा चुनौती थपेपछि प्रहरीले उच्च प्रविधियुक्त संरचना स्थापना गरेको जनाएको छ। परम्परागत अनुसन्धान र निगरानी प्रणाली मात्र पर्याप्त नहुने निष्कर्षसहित प्रहरीले जेनेरेटिभ एआई, लार्ज ल्याङ्ग्वेज मोडल, मसिन लर्निङ, प्रिडिक्टिभ एनालिटिक्स तथा अटोमेसनमा आधारित विश्लेषण प्रणाली प्रयोगमा ल्याएको हो।प्रहरीका अनुसार एआई सेलको मुख्य उद्देश्य आर्टिफिसियल इन्टेलिजेन्सको संस्थागत अवलम्बन, पूर्वचेतावनी प्रणालीको विकास, सूचना हेरफेर नियन्त्रण, साइबर अपराधसम्बन्धी गुप्तचरी, डिजिटल प्रमाण सङ्कलन तथा विश्लेषणलाई प्रविधिमैत्री बनाउनु रहेको छ।एआई सेल सञ्चालनमा आएलगत्तै प्रहरीले यसको प्रयोगबाट पहिलो सफलता पनि हासिल गरेको दाबी गरेको छ। सामाजिक सञ्जालमार्फत गलत तथा मिथ्या सूचना सम्प्रेषण गरेको आरोपमा बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई कानुनी प्रक्रियाअनुसार दायरामा ल्याइएको छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले प्रविधिको दुरुपयोग गरी भ्रामक सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताए। उनले आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह गर्दै भने, “सामाजिक सञ्जालको दुरुपयोगबाट गलत तथा मिथ्या सूचना फैलाउने कार्य दण्डनीय छ। कानुनको पालना गरी जिम्मेवार नागरिकको परिचय दिन सबैमा आग्रह गर्दछौँ।”प्रहरीले आगामी दिनमा एआई सेलमार्फत डिजिटल निगरानी, विश्लेषण र अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै साइबर अपराध नियन्त्रणमा कडाइ गर्ने संकेत दिएको छ।