सहकारीका पीडित कृष्ण जैसीले राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार विना गुरुङलाई आफ्ना सन्तानको विद्यालय शुल्कको बिल हस्तान्तरण
पोखरामा आयोजित सार्वजनिक बहस कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आमनेसामने भएका छन्। पोखरा लेडी जेसिजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य उपस्थिति थियो।कार्यक्रम चलिरहेकै क्रममा सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विना गुरुङलाई आफ्ना सन्तानको विद्यालय शुल्कको बिल हस्तान्तरण गरेका थिए। जैसीले सहकारीमा बचत गरेको रकम फिर्ता नपाउँदा छोराछोरीको पढाइ नै प्रभावित भएको गुनासो गर्दै उक्त बिल बुझाएको बताएका हुन्बहसमा सहभागीहरूले सहकारी ठगी प्रकरणलाई मुख्य मुद्दाका रूपमा उठाए। विशेषगरी रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोप र पार्टीले घोषणापत्रमा उल्लेख गरेको १०० दिनभित्र रकम फिर्ता गर्ने प्रतिबद्धताबारे प्रश्नहरू उठाइए। पीडितहरूले सहकारीमा राखेको जीवनभरको बचत गुम्दा दैनिकी कष्टकर बनेको बताएका थिए।जवाफमा उम्मेदवार गुरुङले सभापति लामिछानेमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोध प्रेरित भएको दाबी गरिन्। उनले पार्टीले १०० दिनभित्र विशेष कोष स्थापना गरी न्यूनतम रकम फिर्ता गर्ने योजना अघि सारेको स्पष्ट पारिन्। साथै आफू पनि सहकारी सञ्चालनमा संलग्न रहेको उल्लेख गर्दै नियामक निकायको कमजोरीका कारण समस्या चर्किएको तर्क प्रस्तुत गरिन्।नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताए।अन्य उम्मेदवारहरूले ठूला राजनीतिक दलहरूले नै सहकारी अनियमिततामा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्दै संसदसम्म पुर्याएको आरोप लगाए।पोखरामा सहकारी संकट गम्भीर बन्दै गएको छ। दर्जनौं सहकारीमा रकम हिनामिना भएको र करिब ४० हजार व्यक्ति प्रभावित बनेको तथ्य सार्वजनिक छ। पीडितहरू आगामी निर्वाचनका उम्मेदवारसँग आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता मागिरहेका छन्।
