प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर

Spread the love

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेकोसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो ।  विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले उनलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । त्यस्तै, इन्धन ट्यांकरका चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि सोहीबराबरको सजाय भएको छ । 

बढी ढुवानी गरेको डिजेलको मूल्यबराबरको चार लाख ४८ हजार बिगो रकमलाई बिगो कायम गरी गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। जसमा तीन व्यक्ति र एक कम्पनीलाई दोषी ठहर गरी दामासाहीका हिसाबले जरिवाना तोकिएको छ । 

यो भ्रष्टाचार घटना साढे दुई वर्षअगाडिको हो। कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको गरी डिजेल वितरण गर्दा घोटाला गरेको हो। यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरेर अनियमितता गरिएको थियो। 

डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटको समेत यसमा मिलेमतो रहेको भन्दै  प्रतिवादी बनाइएकोमा उनीहरूले भने सफाइ पाएका छन् ।  

डिजेल लोड गरेर सिल लगाई ट्यांकर डिपोबाहिर निस्किएको थियो । यसरी स्वीकृत अर्डरभन्दा बढी डिजेल बोकेर हिँडेको ट्यांकरलाई पोखरा महानगरपालिका– २७, डाँडाको नाकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्यांकर चेकजाँच गर्दा १५ हजार ३८ लिटर डिजेल रहेको पुष्टि भयो।  बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजल देखिएपछि छानबिन सुरु भएको थियो। उक्त दिनको प्रतिलिटर डिजेलको मूल्य १४७.६३ थियो। यसअनुसार बढी लोड भएको परिमाणबराबरको डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ हुन आउँछ। प्रहरीले त्यस वेला ठगी मुद्दामा अनुसन्धान गरी मुद्दा चलाएकोमा सरकारी कर्मचारीमाथि अनुसन्धान गर्न अख्तियारलाई समेत लेखी पठाएको थियो। सोही आधारमा मुद्दा दायर भएकोमा विशेषले दोषी ठहर गरेको हो।