बिक्रम ऐरसहित ३० जना नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
नेकपा एमाले डडेलधुरा जिल्ला कमिटी सदस्य बिक्रम ऐरसहित ३० जना नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।अजयमेरु गाउँपालिकास्थित चमडा पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा ऐर नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका उनीहरूले कांग्रेस उम्मेदवार नैनसिंह महरलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।बिक्रम ऐरले भने, “राजनीतिक दल नारामा मात्र सीमित हुने होइन। व्यवहारमा जनताको काम गर्ने पार्टी रोज्नुपर्छ। आजको दिनमा कांग्रेस नै त्यस्तो एकमात्र शक्ति हो, जो भरोसायोग्य छ र सधैं जनतासँग नजिक रहेर उनीहरूका सुख–दुःखमा मलम लगाउँछ।”उनले एमालेमा राजनीतिक इमान्दारिता हराउँदै गएको र कार्यकर्ताको भविष्य नभएको गुनासो गर्दै कांग्रेसको लोकतान्त्रिक अभियानमा बिना सर्त समावेश भएको बताए।कांग्रेस उम्मेदवार महरले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै यसले आगामी फागुन २१ को निर्वाचनमा कांग्रेसको पक्षमा नतिजा आउने सुनिश्चित गरेको बताए। उनले भने, “विपक्षी दलका जिम्मेवार नेता बिक्रमलगायतले देखाउनुभएको विश्वासले मलाई थप ऊर्जा मिलेको छ। डडेलधुरावासीले विकास र समृद्धिको एजेण्डा बोकेको कांग्रेसलाई रोजिसकेको छ।”कार्यक्रममा कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, पूर्वपार्टी सभापति रघुवर भट्ट र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोबिन्द बोहोरालगायत शीर्ष नेताहरूले नवप्रवेशीहरूलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए।
