बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगे

Spread the love

रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको जानकारी दिएका छन्।प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बस खसेको स्थानमा खोजी कार्यका क्रममा थप तीनवटा शव फेला परेका हुन्। यससँगै मृतकको संख्या नौ पुगेको हो। उनका अनुसार छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने तीनवटा शव घटनास्थलमै फेला परेका हुन्।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनापछि उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।प्रहरीका अनुसार आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट छुटेको बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको जनाइएको छ।यातायात समितिका अनुसार बसमा जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जना यात्रुले टिकट काटेका थिए। तर बाटोबाट अन्य थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा यकिन भइसकेको छैन।दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्यलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी थापाले बताएका छन्। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा रहेकाले सम्भावित अन्य यात्रुको खोजी कार्य अझै जारी रहेको जनाइएको छ।