डेडिकेटेड इमेल ठेगाना र ह्वाट्सएप नम्बर सार्वजनिक

Spread the love

कर्मचारी सूचनालाई शुद्ध, वैध र विश्वसनीय बनाउन राष्ट्रिय किताबखाना (निजामती) ले डेडिकेटेड इमेल ठेगाना र ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ। बहालवाला तथा अवकाशप्राप्त कर्मचारीको सूचना शुद्धिकरण (डेटा क्लिनिङ) अभियानलाई तीव्र बनाउने उद्देश्यसहित उक्त व्यवस्था गरिएको हो।राष्ट्रिय किताबखानाले हाल बहालवाला ८५ हजार ४२८ र अवकाश भइसकेका ७० हजार ९५५ गरी कुल एक लाख ५६ हजारभन्दा बढी कर्मचारीको व्यक्तिगत तथा सेवा-सम्बन्धी सूचना ‘कर्मचारी सूचना बैंक’का रूपमा व्यवस्थापन गर्दै आएको छ। बैंकमा संकलित सूचनालाई एक्यूरेसी, भ्यालिडिटी र रिलायवको मापदण्डमा आधारित बनाई अद्यावधिक गर्न विभागले विगतदेखि नै सूचना शुद्धिकरण अभियान सञ्चालन गरिरहेको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले प्रशासनलाई जानकारी दिए।उनका अनुसार कर्मचारी सूचनाका १७ वटा मुख्य क्षेत्रमा देखिएका मिसम्याच पहिचान गरी शुद्धिकरण गर्ने रणनीति अनुसार अभियान अघि बढाइएको छ। सोही रणनीतिअन्तर्गत पहिलो चरणमा विविध प्रकृतिका बिदा र औषधि उपचार सुविधा सम्बन्धी विवरणलाई प्राथमिकतामा राखिएको छ।महानिर्देशक पोखरेलका अनुसार विभिन्न प्रकारका बिदा उपयोग गरिएको देखिएका ७ हजार १९० कर्मचारी र औषधि उपचार सुविधा लिएको देखिएका ६२२ कर्मचारीको व्यक्तिगत फाइल ‘वन बाइ वन’ अध्ययन भइरहेको छ। यी दुवै प्रकृतिका कर्मचारीको विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिएको छ।सूचना शुद्धिकरण कार्यमा सम्बन्धित कर्मचारीको सक्रिय सहयोग आवश्यक पर्ने भएकाले राष्ट्रिय किताबखानाले आवश्यक प्रमाण कागजातसहित सूचना उपलब्ध गराउन अनुरोध गरेको छ। विभागका अनुसार प्राप्त सूचनाको परीक्षणपछि कर्मचारी विवरण अद्यावधिक तथा शुद्धिकरण गरिनेछ।राष्ट्रिय किताबखानाले यो अभियानले कर्मचारी सूचना प्रणालीलाई अझ विश्वसनीय बनाउने, सेवा–सुविधा व्यवस्थापनमा देखिने त्रुटि न्यूनीकरण गर्ने र दीर्घकालीन रूपमा सरकारी मानव स्रोत व्यवस्थापनलाई सुदृढ बनाउने अपेक्षा गरेको छ।