झुटा सामग्रीको बढ्दो समस्यालाई नियन्त्रण गर्न छुट्टै एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी

Spread the love

नेपाल प्रहरीले एआईको दुरुपयोग, डिजिटल म्यानुपुलेशन र झुटा सामग्रीको बढ्दो समस्यालाई नियन्त्रण गर्न छुट्टै एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोगमार्फत गलत सूचना, हेट स्पिच र भ्रामक सामग्री प्रसारण हुने क्रम बढेकाले त्यस्ता गतिविधिको निगरानी र कानूनी उपचारका लागि नयाँ सेल आवश्यक भएको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा मिसइन्फरमेशन र डिसइन्फरमेशन फैलिनु गम्भीर चिन्ताको विषय बनेको बताए। डिजिटल युगमा एआईको दुरुपयोग, हेट स्पिच र डिजिटल हेरफेरबाट सिर्जित झुटा सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेको उनको भनाइ थियो।उनले कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने उल्लेख गर्दै कपी–पेस्ट प्रवृत्तिले सिर्जनशीलता नष्ट गरिरहेको पनि टिप्पणी गरे। यस्ता गतिविधिको प्रभावकारी निगरानी र नियन्त्रणका लागि नेपाल प्रहरीले अब प्रविधिमै आधारित भएर काम गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।आईजीपी कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिए। सञ्चार माध्यम र सुरक्षा निकायबीचको सहकार्यले मात्र झुटा सूचना र डिजिटल अपराधविरुद्ध प्रभावकारी भूमिका खेल्न सकिने भन्दै उनले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरूले मार्गदर्शन तयार गर्ने अपेक्षा व्यक्त गरे।