नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुने

Spread the love

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले भोलिदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन्। सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ।निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गर्न लागिएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि सुरक्षामा खटाइनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ। सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै काम गर्नेछ।नेपाली सेनाले बाहिरी सुरक्षा घेरामा रही समग्र सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। सेनाका अनुसार बुधबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको थियो।

सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ। एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचनको एक महिना अघिदेखि नै सेना फिल्डमा परिचालित हुन लागेको हो। निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ।निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। मतदानका समयमा सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिनेछ।आसन्न निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यस निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता छन्।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन्। विद्यमान जनशक्ति अपुग हुने भएकाले एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।मतदानस्थललाई संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जना परिचालित हुनेछन्। निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परेमा सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।