रूसबाट हुन सक्ने हाइब्रिड आक्रमणप्रति चिन्ता
जर्मनीका एक शीर्ष सैन्य अधिकारीले आगामी दुईदेखि तीन वर्षभित्र रूसले नाटोमाथि आक्रमण गर्न सक्ने गम्भीर जोखिम देखिएको बताएका छन्। जर्मन सशस्त्र बलको सहायता कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल जेराल्ड फुनकेले द टाइम्सलाई दिएको अन्तर्वार्तामा रूसबाट पूर्णस्तरको आक्रामक युद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जर्मनीले सेना तयारी तीव्र बनाएको जानकारी दिएका हुन्। उनका अनुसार आगामी २४ देखि ३६ महिनाभित्र ‘सबैभन्दा खराब अवस्था’ आउन सक्ने भन्दै हजारौँ सैनिकलाई त्यसअनुसार तयारी अवस्थामा राखिएको छ।फुनकेले विशेषगरी रूसबाट हुन सक्ने ‘हाइब्रिड आक्रमण’प्रति चिन्ता व्यक्त गरेका छन्। उनले साबोटाज, स्लीपर सेल, लक्षित आक्रमणजस्ता गुप्त गतिविधि अहिलेको सबैभन्दा ठूलो खतरा भएको बताए। लामो दूरीका मिसाइल प्रयोगको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने भए पनि हालका अवस्थामा गुप्त र अप्रत्यक्ष आक्रमणको जोखिम अत्यन्त उच्च रहेको उनको भनाइ छ।युरोपभर पछिल्ला वर्षहरूमा बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताबीच धेरै देशहरूले सैन्य तयारी तीव्र बनाएका छन्। विभिन्न सुरक्षा विज्ञहरूले बेलायतसहित अन्य युरोपेली मुलुकहरू सम्भावित युद्धका लागि पर्याप्त रूपमा तयार नरहेको चेतावनी दिँदै आएका छन्। यही सन्दर्भमा जर्मनीले आफ्नो रक्षा संरचना बलियो बनाउने र आपतकालीन अवस्थाका लागि अग्रिम तयारी थालेको जनाइएको छ।यसैबीच, नाटोका महासचिव मार्क रुट्टेले अमेरिका नेतृत्वमा शान्ति वार्ता जारी रहेको बताएका छन्। उनले दीर्घकालीन युद्धविराम वा स्थायी शान्ति सम्झौता हासिल गर्नु नै वार्ताको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्। तर कूटनीतिक प्रयासहरू जारी रहँदै गर्दा पनि जर्मनी र अन्य नाटो मुलुकहरू सम्भावित सैन्य जोखिमलाई नजरअन्दाज नगरी तयारीमा जुटिरहेका छन्।
