इरानविरुद्ध कुनै पनि किसिमको सैन्य हमला गर्न नदिइने स्पष्ट
यूएईको विदेश मन्त्रालयले इरान लक्षित सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र, स्थल तथा क्षेत्रीय जलक्षेत्र प्रयोग गर्न अनुमति नदिने अडान पुनः दोहोर्याएको हो।विज्ञप्तिमा यूएईले इरानमाथि हुने कुनै पनि सैन्य आक्रमणका लागि रसद सहयोगसमेत उपलब्ध नगराउने स्पष्ट उल्लेख गरिएको छ।यसअघि गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरूमाथि दमन भइरहेको आरोप लगाउँदै अमेरिका त्यस घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएका थिए। सोही क्रममा उनले अमेरिकी सेनाको ठूलो समूह खाडी क्षेत्रतर्फ अघि बढिरहेको जानकारीसमेत दिएका थिए।खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामध्ये एक यूएईको राजधानी अबुधाबी नजिकै रहेको अल धाफ्रा एयर बेसमा हजारौँ अमेरिकी सेना तैनाथ छन्।यूएईको विदेश मन्त्रालयले वर्तमान परिस्थितिको समाधान सैन्य माध्यमबाट होइन, संवाद, अन्तर्राष्ट्रिय कानुनको पालना र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानबाट सम्भव हुने धारणा पनि विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
