गगन थापा पहिलोपटक मधेसबाट प्रतिनिधिसभा चुनाव लड्दै
नेपाली कांग्रेसले आफ्ना सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयसँगै मधेस केन्द्रित चुनावी अभियान सुरु गर्ने भएको छ। कांग्रेसले यही माघ १६ गते जनकपुरमा ठूलो चुनावी सभा आयोजना गर्ने भएको हो।कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवका अनुसार पार्टी अहिले उक्त सभाको प्रारम्भिक तयारीमा जुटेको छ। “माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने निर्णय भएको छ, त्यसको तयारी सुरु भइसकेको छ,” उनले बताए।सभापति बनेपछि गगन थापा पहिलोपटक मधेसबाट प्रतिनिधिसभा चुनाव लड्दै छन्। उनी सर्लाही–४ बाट उम्मेदवार बनेका हुन्। कांग्रेस नेतृत्वका अनुसार मधेसबाट चुनावी सुरुवात गर्नुले पार्टीको राजनीतिक सन्देशलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।गत पुस ३० गते काठमाडौंमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति घोषणा गर्दै नयाँ कार्यसमिति चयन गरेको थियो। सो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा पदबहाली गरेका थिए।पदबहालीकै दिन बसेको कार्यसमिति बैठकले गगन थापालाई निर्वाचनमा विजयी भएमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो। यससँगै कांग्रेसले थापालाई केन्द्रमा राखेर चुनावी रणनीति अघि बढाउने संकेत गरेको छ।जनकपुर सभालाई कांग्रेसले मधेसमा शक्ति प्रदर्शन र चुनावी सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टी नेतृत्वको सक्रियतासँगै मधेसको राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ।
