समाचार

आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा सम्बन्धित कानुनअनुसार कारबाही हुने

Spread the love

पछिल्लो १० महिनामा ८६ जना बाङ्ग्लादेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। पछिल्लो साउनदेखि असोजसम्मको चार महिनामा मात्रै ५१ जना निष्कासनमा परेका छन्। हाल अध्यागमन विभागको हिरासतमा १८ जना बाङ्ग्लादेशी नागरिक छन्।नेपालमा गैरकानुनी रूपमा बस्ने, काम गर्ने तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा बाङ्ग्लादेशी नागरिकको पक्राउ र निष्कासन बढ्दै गएको छ। सरकारी तथ्याङ्कअनुसार चिनियाँ नागरिकपछि नेपालबाट सबैभन्दा धेरै निष्कासन हुने विदेशी नागरिकमा बाङ्ग्लादेशी छन्।

कार्तिक १६ गते काठमाडौंका विभिन्न स्थानबाट चार बाङ्ग्लादेशी र एक भारतीय नागरिक पक्राउ परेका थिए। उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाइएको छ। यसअघि पनि अवैध रूपमा बसोबास गरेको, अनुमतिबिना काम गरेको र शङ्कास्पद गतिविधिमा संलग्न भएको अभियोगमा बाङ्ग्लादेशी नागरिक पक्राउ परेका थिए।

प्रहरीका अनुसार केही नागरिक पर्यटक भिसामा नेपाल आएर काम गर्ने, भिसाको म्याद सकिएपछि पनि बस्ने वा अवैध बाटोबाट प्रवेश गर्ने गरेको पाइएको छ। अनलाइन ठगीलगायत आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा समेत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीले दिएको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा हवाई मार्गबाट १ लाख १७ हजार ६८२ बाङ्ग्लादेशी नागरिक नेपाल आएका वा फर्किएका छन्। तीमध्ये ५८ हजार ८७९ जना नेपाल भित्रिएका र ५८ हजार ८०३ जना फर्किएका छन्।

अध्यागमन विभागले भिसा उल्लङ्घन गर्नेहरूबाट आवश्यक शुल्क र जरिवाना असुल गरी केही वर्ष नेपाल प्रवेशमा रोक लगाएर निष्कासन गर्ने गरेको जनाएको छ। आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा भने सम्बन्धित कानुनअनुसार कारबाही हुने अधिकारीहरूको भनाइ छ।