प्रतिस्पर्धी नै नहुने अवस्था रहेको दाबी
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेशमा आँट गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको बताएका छन्। शनिबार सर्लाही–४ मा पार्टीका कार्यकर्ताहरूसँग भएको छलफलमा सभापति थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा चुनाव जित्न सहज अवस्था हुँदाहुँदै पनि मधेश झरेको स्पष्ट पारे। उनले काठमाडौं–४ मा आफूलाई प्रतिस्पर्धी नै नहुने अवस्था रहेको दाबीसमेत गरे।
थापाका अनुसार, काठमाडौं–४ बाट यसअघि तीन पटक चुनाव जितिसकेका कारण त्यहाँ उनको स्थिति सहज थियो। तर आफूले उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने टुंगो नलागेसम्म अन्य पार्टीहरूले समेत उम्मेदवार तय गर्न नसकेको उनको भनाइ छ। आफू काठमाडौंमा नलड्ने निर्णय गरेपछि मात्रै विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता भएको उनले बताए। ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर सर्लाही–४ रोज्नु मेरो सचेत निर्णय हो,’ थापाले भने, ‘म अघिल्लो निर्वाचनमै मधेश झर्न चाहन्थेँ। यसपटक आँट गरेर आएको हुँ।’
उनले मधेशको प्रतिनिधित्व, राजनीतिक विश्वास र राष्ट्रिय एकताका लागि यो निर्णय लिएको बताउँदै सर्लाहीका मतदातासँग प्रत्यक्ष संवाद गरेर राजनीति गर्ने प्रतिबद्धता जनाए।
