मापदण्डबिना उम्मेदवार छनोट गरिएको आरोप लगाउँदै उपमहासचिव योगेश भट्टराई द्वारा बैठक बहिस्कार
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने क्रममा नेकपा एमालेभित्र असन्तुष्टि सतहमा आएको छ। शनिबार करिब आठ घण्टा चलेको सचिवालय बैठकमा स्पष्ट मापदण्डबिना उम्मेदवार छनोट गरिएको आरोप लगाउँदै उपमहासचिव योगेश भट्टराई बैठकबाट बाहिरिएका छन्।स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल ले एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराईले तीन बुँदे ‘नोट अफ डिसेन्ट’ तयार पारेर आइतबार पार्टी कार्यालयमा बुझाउने तयारी गरेका छन्। बैठकमै अध्यक्ष ओलीले ताप्लेजुङबाट भट्टराईलाई उम्मेदवार नबनाइने संकेत गरेपछि उनले संसदमा आफ्नो भूमिकामाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरेका थिए।बैठकमा ११औँ महाधिवेशनमा फरक समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई योजनाबद्ध रूपमा किनारामा राखिएको टिप्पणीसमेत उठेको थियो। सो समूहसँग जोडिएका सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल र तारा लामा लगायत नेताहरूप्रति नेतृत्व अनुदार देखिएको सचिवालय स्रोतको भनाइ छ।यद्यपि बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाए पनि केही संवेदनशील क्षेत्रको निर्णय अध्यक्षकै जिम्मामा छोडेर सकिएको छ। उपमहासचिव लेखराज भट्ट ले रणनीतिक कारणले केही क्षेत्रमा नाम घोषणा गर्न बाँकी राखिएको दाबी गरेका छन्।काठमाडौँका १० मध्ये ४ क्षेत्र, ललितपुर–३, काभ्रे–२, मधेस, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका केही महत्वपूर्ण सिटहरूमा उम्मेदवार अझै तय हुन बाँकी रहेको एमालेको भनाइ छ। ती क्षेत्रमा चुनावी तालमेल र सम्भावित नयाँ राजनीतिक प्रवेशलाई हेरेर निर्णय लिइने बताइएको छ।
