बन्द कोठामा बसेर राम्रो कानुन बन्न नसक्ने व्यापक छलफल आवश्यक रहेको भनाई

Spread the love

‘मुलुकी संहिता दिवस, २०८३’ का अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले नागरिक र सरोकारवालाको आवाज सुनेर मात्रै न्यायपूर्ण कानुन निर्माण गर्न सकिने धारणा राखिन्। कानुन समाजको ऐना भएकाले बदलिँदो समाज र समयअनुसार कानुन पनि परिमार्जन हुँदै जानुपर्ने उनको भनाइ थियो।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले नयाँ अभियान सुरु गरेको बताएकी छन्।

आजको डिजिटल युगमा कानुन अझ दूरदर्शी हुनुपर्ने उल्लेख गर्दै उनले बन्द कोठामा बसेर राम्रो कानुन बन्न नसक्ने बताइन्। कानुन निर्माणअघि नागरिक, सरोकारवाला र सम्बन्धित पक्षसँग व्यापक छलफल आवश्यक रहेको उनको जोड थियो।

मन्त्रालयले नागरिकलाई प्रत्यक्ष रूपमा कानुन निर्माण प्रक्रियामा सहभागी गराउन ‘आफ्नो कानुन आफैँ बनाऔँ’ र ‘आफ्नो कानुन जानौँ’ अभियान सुरु गरेको उनले जानकारी दिइन्। नागरिकले आफूलाई आवश्यक लागेको कानुन र व्यवस्थाबारे सुझाव दिन सक्ने र त्यसलाई कानुनी भाषामा रूपान्तरण गर्ने काम मन्त्रालयको हुने उनले बताइन्।मन्त्री गौतमले कानुन बनाउन बाह्य कन्सल्टेन्टलाई जिम्मा दिने पुरानो प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाउँदै सरकारको नीति र आवश्यकताअनुसार कानुन निर्माणका लागि नेपाल कानुन आयोगलाई थप सशक्त र प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्।