शैक्षिक प्रमाणपत्रसमेत हुलाकमार्फत घरमै पुर्‍याउने तयारी

Spread the love

हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्‍याउने सम्झौता भएसँगै यो सेवा देशभर पुगेको हो।सरकारले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ। अब राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत विभिन्न सरकारी कागजात तथा सामग्री सेवाग्राहीको घरदैलोसम्म पुर्‍याउने व्यवस्था विस्तार गरिएको हो।

हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन हुलाक सेवा विभागका अनुसार भदौ १ गतेसम्म २ लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयहरूमा पुर्‍याइएको छ। त्यसमध्ये ८ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरमै वितरण भइसकेको छ।

त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र विभिन्न यातायात कार्यालयमा पुर्‍याइएको छ। तीमध्ये १ हजार ९९ थान लाइसेन्स घरदैलोमै वितरण गरिएको विभागले जनाएको छ।अब शैक्षिक प्रमाणपत्रसमेत हुलाकमार्फत घरमै पुर्‍याउने तयारी अघि बढाइएको छ। नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतापछि सेवा सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालयसँग पनि सम्झौताको तयारी भइरहेको छ।सरकारले हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने योजना पनि अघि बढाएको छ। पहिलो चरणमा ५० वटा हुलाक कार्यालय छनोट गरिएको छ।