विपद् प्रभावित रोल्पामा तत्काल उद्धार राहत पुन स्थापनाको काम बढाउन माग

Spread the love

प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले विपद् प्रभावित रोल्पामा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन माग गरेका हुन्।रोल्पामा पछिल्लो दुई सातामा मात्रै बाढी, पहिरो र चट्याङका कारण २२ जनाले ज्यान गुमाएपछि नेकपा सांसद वर्षमान पुनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पुनका अनुसार साउनको पछिल्लो दुई सातामा रोल्पाका विभिन्न क्षेत्रमा गएको पहिरो र चट्याङले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। थवाङ गाउँपालिकाको उवामा मात्रै भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा चार जना, लुङ्ग्रीको धैरेनीमा एक जना, सेरममै थप दुई जना, परिवर्तन गाउँपालिकाको पाछावाङमा एक जना र लुङ्ग्री–१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पुनले संसदलाई जानकारी गराए।प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पुनले घाइतेको उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे। उनले आफूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेटेरै रोल्पाको अवस्थाबारे जानकारी गराइसकेको समेत बताए।

वर्षमान पुनका ५ मुख्य माग

१. उद्धार र राहत तत्काल प्रभावकारी बनाइयोस्
विपद् प्रभावित क्षेत्रमा राज्यका खोज तथा उद्धार संयन्त्रलाई चुस्त बनाएर राहत सामग्री तत्काल पुर्‍याउन पुनले माग गरेका छन्।

२. सुलिचौर–उवा–थवाङ सडक तत्काल खुलाइयोस्
पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको मुख्य माग छ।

३. क्षतिग्रस्त खानेपानी र पुल पुनर्निर्माण गरियोस्
पहिरो तथा बाढीबाट क्षति पुगेका खानेपानी आयोजना, सडक र पुलको तत्काल पुनःस्थापना गर्न उनले आग्रह गरेका छन्।

४. जोखिमयुक्त क्षेत्रमा भौगर्भिक अध्ययन गरियोस्
पटक–पटक पहिरो जाने क्षेत्रको दीर्घकालीन जोखिम पहिचान गर्न तत्काल भौगर्भिक अध्ययन टोली पठाउनुपर्ने पुनको माग छ।

५. प्रभावित बस्तीको पुनःस्थापना र पुनर्निर्माण गरियोस्
विपद्बाट विस्थापित परिवार तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।पुनले विपद् आउनुअघि नै पूर्वतयारी बलियो बनाउनुपर्नेमा जोड दिँदै खोज तथा उद्धारदेखि राहत र पुनर्निर्माणसम्म सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।