कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिइने महासचिवकाे भनाई

Spread the love

सङ्घले म्यानपावर कार्यालय बन्द गर्नुका साथै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्पूर्ण प्रक्रिया समेत रोक्ने जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागप्रति सरकारले उदासीनता देखाएको आरोप लगाउँदै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।

यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको सङ्घले अब पूर्ण रूपमा काम–कारोबार ठप्प पार्ने निर्णय गरेको हो।सङ्घका अनुसार जारी श्रम स्वीकृति प्राप्त गरी उडानको तयारीमा रहेका श्रमिकलाई समेत शनिबार राति १२ बजेसम्मको समयसीमा दिइएको छ। उक्त समयपछि प्रक्रिया पूरा भइसकेका श्रमिकको उडानसमेत रोकिने बताइएको छ।

श्रम मन्त्रालयसँग भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको र मन्त्रिस्तरमा समेत प्रभावकारी वार्ता नभएको सङ्घको आरोप छ। मागहरूको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिइने महासचिव हीराबहादुर डाँगीले बताएका छन्।सङ्घले काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका शाखा कार्यालय बन्द गर्ने, नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण कामकारबाही रोक्ने जनाएको छ। साथै, सङ्घको निर्णयविपरीत लुकिछिपी कार्यालय सञ्चालन गर्ने सदस्य संस्थामाथि कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ