लाठीअश्रुग्यास रबर बुलेट गैरघातक उपाय प्रयोग गर्ने चरण पूरा नगरी घातक हतियार चलाउनु गलत

Spread the love

देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा १० साउनमा भएको घटनाबारे सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले अध्ययन गरेको थियो। समितिका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउन्ड गोली चलाएका थिए। गोली लागेका स्थानीय युवा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको थियो।सुनसरी र सिराहामा भएका दुई छुट्टाछुट्टै घटनाको सरकारी छानबिनले सुरक्षाकर्मीले परिस्थिति नियन्त्रण गर्ने प्रारम्भिक उपाय नअपनाई आवेगमा गोली चलाएको निष्कर्ष निकालेको छ

समितिले लाठी, अश्रुग्यास र रबर बुलेटजस्ता गैरघातक उपाय प्रयोग गर्ने चरण पूरा नगरी घातक हतियार चलाउनु गलत भएको ठहर गरेको छ। घटनामा समन्वय कमजोर भएको भन्दै सुनसरीका सिडिओ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिएसपी र स्थानीय इन्स्पेक्टरमाथि कारबाही सिफारिस गरिएको छ। घटनाका दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी बिदामा रहेकाले उनीहरूलाई भने कारबाही सिफारिस गरिएको छैन।सिराहाको गोलबजार घटनाबारे सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले डिएसपी रमेश पाल र सुमन नेपाली गोली प्रहारमा संलग्न रहेको उल्लेख गरेको छ। ढुंगा लागेपछि डिएसपी पालले गोली चलाउन आदेश दिएको र उनी आवेगमा आएको समितिको निष्कर्ष छ। १४ साउनमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।समितिले सिराहाका सिडिओ सुरेन्द्र पौडेल र एसपी वासुदेव पाठकलाई सचेत गराउन पनि सिफारिस गरेको छ।दुवै समितिले भिड नियन्त्रणमा गैरघातक हतियारको प्रयोग बढाउन तथा गोली चलाउने प्रहरीलाई अनिवार्य रूपमा बडी वर्न क्यामेरा लगाउन सुझाव दिएका छन्। कप्तानगन्जको झडपका क्रममा विद्युत् अवरोध योजनाबद्ध नभई प्राविधिक कारणले भएको पनि छानबिनबाट खुलेको छ।दुवै प्रतिवेदन मंगलबार गृहमन्त्री सुधन गुरुङलाई बुझाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।