दुर्गा प्रसाईंको महाअभियानमा पीडितको पहिचानसहित सरकारसँग वार्ता टेबलमा
वार्ता टेबलमा टोलीका अन्य सदस्यहरू औपचारिक पोसाकमा उपस्थित हुँदा अभियन्ता विजय थापा भने च्यातिएको पुरानो सर्ट लगाएर सिंहदरबार पुगे।सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच सिंहदरबारमा औपचारिक वार्ता भइरहेका बेला एउटा दृश्यले सबैको ध्यान तानेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको वार्तामा च्यातिएको सर्टमै सरकारी अधिकारीसामु बसेका थापाले आफू ‘पीडित’ भएको सांकेतिक सन्देश दिन यस्तो पोसाकमा आएको बताएका छन्।महाअभियानका संयोजक विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा रहेको ९ सदस्यीय वार्ता टोलीमा थापासहित विभिन्न व्यक्तिहरू सहभागी छन्।को हुन् विजय थापा? विजय थापा यसअघि पनि विभिन्न अनशन, विरोध प्रदर्शन र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका व्यक्ति हुन्।२०७५ सालमा डा. गोविन्द केसी इलाममा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका बेला थापाले नजिकै ‘उल्टो अनशन’ सुरु गरेर चर्चा कमाएका थिए।
उनले डा. केसीसँग सरकारले गरेका सम्झौता खारेज गर्नुपर्ने तथा केसीको तलब–भत्तामाथि छानबिन हुनुपर्ने माग राखेका थिए। त्यसबेला उनलाई तत्कालीन सत्तापक्षबाट परिचालित भएको आरोपसमेत लागेको थियो।पछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसीले पुनः अनशन थाले आफूले पनि ‘प्रति–अनशन’ गर्ने घोषणा गरेका थिए।निजी मेडिकल कलेजका पक्षमा वकालत गर्दै आएका थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका तत्कालीन उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि प्रश्न उठाउँदै २०७६ सालमा आयोगको गेटमै आमरण अनशन बस्ने चेतावनीसमेत दिएका थिए।विगतमा निजी मेडिकल कलेजको पक्षपोषण र डा. गोविन्द केसीको विरोधमा सक्रिय देखिएका थापा अहिले दुर्गा प्रसाईंको महाअभियानमा ‘पीडित’को पहिचानसहित सरकारसँग वार्ता टेबलमा पुगेका छन्।
