निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको समानुपातिक बन्द सूचीमध्ये बालेनले ४० जनाको नाम पठाउने तयारी
सबिना प्रजा
आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) ले आफ्नो तर्फबाट सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गर्ने काम सुरु गरेका छन्।रास्वपासँग भएको सहमतिअनुसार निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको समानुपातिक बन्द सूचीमध्ये बालेनले ४० जनाको नाम पठाउने तयारी गरेको स्रोतले जनाएको छ। ती नाममध्ये केही उम्मेदवार रास्वपा र बालेन दुवैको साझा सिफारिसमा पर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ।बालेनको सचिवालयका एक सदस्यका अनुसार सूची तयार गर्दा जितको संख्या भन्दा पनि उम्मेदवारको योग्यता र प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ।उनले भने, ‘११० सिट नै जितिन्छ भन्ने होइन, तर जति नाम पठाइन्छ, ती सबै जुन टिमबाट भए पनि सक्षम र योग्य हुनुपर्छ। त्यही आधारमा सूची बनाइँदैछ।’सचिवालयका अनुसार निर्वाचन आयोगको आधिकारिक सफ्टवेयर तथा एक्सेल सिट प्रयोग गरेर समानुपातिक क्लस्टरहरूको व्यवस्थापन भइरहेको छ। नेपालको निर्वाचन कानुनअनुसार दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम र खस–आर्य समुदायको निश्चित प्रतिशत र क्रम मिलाउनुपर्ने भएकाले सूची निर्माणलाई अत्यन्त सावधानीका साथ अगाडि बढाइएको छ।उनले थपे, ‘समानुपातिक सूची बनाउनु प्राविधिक रूपमा निकै जटिल प्रक्रिया हो। एउटा नाम तलमाथि हुँदा वा क्लस्टर नमिल्दा पूरै सूची अस्वीकृत हुन सक्छ। त्यसैले राम्रो मान्छे मात्रै भएर पुग्दैन, उसले प्रतिनिधित्व गर्ने समुदाय पनि निर्णायक हुन्छ।’उम्मेदवारलाई कुन स्थानमा राख्ने भन्ने विषयमा बालेनको टिमभित्र आन्तरिक छलफल चलिरहेको छ। सचिवालयका अनुसार बालेन स्वयं पनि विभिन्न क्लस्टरका प्रभावशाली र योग्य व्यक्तिसँग प्रत्यक्ष संवादमा रहेका छन्।समावेशी मात्र होइन, प्राविधिक रूपमा पनि त्रुटिरहित सूची चाहिन्छ। त्यसका लागि बालेनले विभिन्न क्षेत्रका सरोकारवालासँग निरन्तर परामर्श गरिरहनुभएको छ,’ ती सदस्यले बताए।यसैबीच, बालेनको टोलीले अन्य नयाँ राजनीतिक शक्तिहरूको गतिविधि पनि नजिकबाट नियालिरहेको छ। विशेषगरी रास्वपाभित्र भइरहेको आन्तरिक मतदान र उम्मेदवार छनोट प्रक्रियालाई ध्यानमा राख्दै आफ्नो रणनीति तय भइरहेको स्रोतले जनाएको छ।
