रवि लामिछाने र बालेन साह बिच गोपनीयता र आपसी विश्वासको संकट

Spread the love

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच विकसित भनिएको सहकार्यको वातावरण संवाद भएको ४८ घण्टा नबित्दै अन्योलमा परेको छ। कमलपोखरीमा ६ घण्टासम्म चलेको सघन छलफलपछि यी दुई वैकल्पिक शक्ति एकै ठाउँमा उभिने अपेक्षा गरिएको थियो। तर, सभापति लामिछानेले चितवन पुगेर मेयर बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने विषयमा कुनै कुरा नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि परिस्थिति एकाएक बदलिएको हो। लामिछानेको यो स्पष्टीकरणले मेयर बालेनलाई गम्भीर रूपमा चिढ्याएको उनीनिकट स्रोतहरूको दाबी छ।बालेनका सहयोगीहरूका अनुसार लामिछानेले वार्ताको गोपनीयता कायम राख्न नसकेको र “भित्र एउटा, बाहिर अर्को” कुरा गरेर राजनीतिक इमान्दारिता नदेखाएको बुझाइ मेयरको छ। बालेनले लामिछानेलाई “विश्वास गर्न गाह्रो व्यक्ति” को रूपमा चित्रण गर्दै यस्तो प्रवृत्तिको राजनीतिलाई “फोहोरी खेल” को संज्ञा दिएका छन्। बैठकमा भएका विषयलाई सार्वजनिक रूपमा अर्कै ढंगले प्रस्तुत गरिएपछि सहकार्यको आधार नै समाप्त भएको बालेन पक्षको तर्क छ। सूचनाको गोपनीयता र आपसी विश्वासको संकट चुलिएपछि मेयर बालेन अब रास्वपालाई छाडेर आफ्नै नयाँ रणनीतिक योजनामा लागेका छन्।

यही तिक्तताका बीच मेयर बालेनले अन्य राजनीतिक शक्तिहरूसँगको मोर्चाबन्दीलाई तीव्र पारेका छन्। उनले कुलमान घिसिङ, डा. सीके राउत, रेशम चौधरी र विभिन्न युवा अभियानीहरूलाई समेटेर ‘देश विकास पार्टी’ मार्फत निर्वाचनमा होमिने तयारी थालेका हुन्। रास्वपाले ठोस प्रस्ताव नपठाएको र लामिछानेको अस्थिर शैली देखिएको भन्दै बालेनले अब वैकल्पिक शक्तिहरूको बृहत्तर सञ्जाल आफ्नै नेतृत्वमा निर्माण गर्ने प्रयास सुरु गरेका छन्।