पिकनिक मनाउन आएका दुई समूहबीच कुटाकुट प्रहरीमाथि समेत आक्रमण
सबिना प्रजा
कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका दुई समूहबीच कुटाकुट हुँदा प्रहरीमाथि समेत आक्रमण भएको छ।
शनिबार भएको उक्त घटनाले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरासहित ३ जना प्रहरी घाइते भएका छन् ।घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घाइते हुने प्रहरीहरुमा असई साउनसिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवानसिंह बुडाल र सहायक हवल्दार बोहरा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सीनाका अनुसार पिकनिक मनाउन आएका समूहबीच विवाद चर्किएपछि इलाका प्रहरी कार्यालय हसुलियाबाट असई भाटको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको छ र उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हवल्दार बुडालको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।स्थिति थप बिग्रिएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिलविक्रम शाहको कमाण्डमा १२ जनाको थप टोली परिचालन गरी घटना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
