प्रधानमन्त्रीको भनाइ राष्ट्रहितविपरीत -एमालेको भ्रातृ संगठन
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल–भारत सीमा मुद्दाबारे दिएको अभिव्यक्तिविरुद्ध नेकपा एमालेनिकट संगठनहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुले संयुक्त रूपमा प्रदर्शन गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत भएको आरोप लगाए।
प्रदर्शनकारीहरूले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको दाबी गरेका छन्। उनीहरूले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका छन्।प्रधानमन्त्री शाहले संसदमा ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर र नेपालको जग्गा भारततिर हुन सक्ने’ अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ।यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ तथा प्राविधिक यथार्थसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको थियो। तर विपक्षी दलनिकट संगठनहरूले भने उक्त अभिव्यक्तिलाई लिएर सरकारको आलोचना जारी राखेका छन्।
