५० युनिट खपतमा भएको विद्युत् शुल्कमा ५ प्रतिशतका दरले भ्याट लाग्ने
सबिना प्रजा
सरकारका अनुसार मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले कुनै पनि मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने छैन। ५० युनिटभन्दा माथिको खपतमा भने थप प्रयोग भएको विद्युत् शुल्कमा मात्रै ५ प्रतिशतका दरले भ्याट लाग्नेछ।सुरुमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट लाग्ने दाबी गरिएको थियो। त्यसपछि सर्वसाधारणबीच अन्योल र आक्रोश फैलिएको थियो।
तर आर्थिक विधेयक, २०८३ अनुसार सरकारले सहुलियत दरमा ५ प्रतिशत मात्रै कर लगाउने व्यवस्था गरेको स्पष्ट भएको छ। यसले सामान्य घरायसी उपभोक्तामाथि अत्यधिक करको भार नपर्ने सरकारको दाबी छ।सरकारले विद्युत् खपत बढाएर आयातित इन्धनमा निर्भरता घटाउने तथा स्वदेशी स्वच्छ ऊर्जाको प्रयोग प्रोत्साहन गर्ने नीति लिएको बताएको छ। त्यसैले न्यून खपतकर्तालाई कर छुट दिँदै बढी खपतमा पनि सहुलियत दर कायम गरिएको हो।यो व्यवस्थापछि विद्युत् करबारे फैलिएको भ्रम केही हदसम्म हट्ने अपेक्षा गरिएको छ।
