अहमद अल–अहमदका लागि संकलित सहयोग रकम २५ लाख अमेरिकी डलर

Spread the love

अष्ट्रेलियाको सिड्नीस्थित बन्दी बीचमा भएको गोलीकाण्डका क्रममा बन्दुकधारीलाई निःशस्त्र बनाउने साहसी व्यक्तिका रूपमा चिनिएका अहमद अल–अहमदका लागि संकलित सहयोग रकम २५ लाख अमेरिकी डलर नाघेको छ। अस्पतालमा उपचाररत रहँदा उनका वकिलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।४३ वर्षीय सिरियामा जन्मिएका फलफूल व्यापारी अहमद अल–अहमद हालैका वर्षहरूमा अष्ट्रेलियाले भोगेको सबैभन्दा अन्धकारमय घटनामध्ये एकमा देखाएको साहसका कारण विश्वभर प्रशंसा बटुलिरहेका छन्।गत आइतबार (डिसेम्बर १४) सिड्नीको बन्दी बीचमा दुई बन्दुकधारीले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा अहमदले ज्यानको परवाह नगरी हस्तक्षेप गरेका थिए। उनले एक बन्दुकधारीलाई लडाएर बन्दुक खोस्न सफल भए, जसका कारण धेरैको ज्यान जोगिएको हुनसक्ने अनुमान गरिएको छ।आक्रमणमा १५ जनाको मृत्यु भएको थियो भने ५० वर्षीय साजिद अक्रम नामका एक आक्रमणकारी पनि मारिएका थिए।बन्दुकधारीलाई निःशस्त्र बनाउने क्रममा अहमदलाई दुई गोली लागेको थियो र उनी त्यसयता अस्पतालमा उपचाररत छन्।

उनको साहसी प्रयासको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सहयोग संकलन अभियान सुरु गरिएको थियो, जसअन्तर्गत हालसम्म ४२ हजारभन्दा बढी दाताबाट २५ लाख ३७ हजार ६२ अमेरिकी डलर संकलन भइसकेको छ।अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (ABC)सँग कुरा गर्दै अहमदका वकिल साम इस्साले स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। उनका अनुसार अहमदले हालै नसामा क्षति पुगेको जटिल शल्यक्रिया गराएका छन् र हाल उनी निकै पीडामा छन्।वकिल इस्साका अनुसार दुई सन्तानका पिता अहमद अब अर्को दिन आठ घण्टे लामो शल्यक्रियाको तयारीमा छन्।यसैबीच, अहमदले अस्पतालको शय्याबाट पहिलोपटक विश्वलाई सन्देश दिएका छन्। टर्कीको सरकारी प्रसारक टीआरटी वर्ल्डले अस्पतालबाट उनको भिडियो सन्देश सार्वजनिक गरेको थियो।अरबी भाषामा बोल्दै अहमदले (अनुवादअनुसार) भनेका छन्,“सबैको प्रयासप्रति म आभारी छु। अल्लाहले तपाईंहरूलाई प्रतिफल दिऊन् र स्वास्थ्य प्रदान गरून्। इन्साअल्लाह, हामी खुसीका साथ पुनः भेट्नेछौँ। तपाईंहरूको प्रयासका लागि धन्यवाद।”

उनले थपे,
“मैले अत्यन्त कठिन समय भोगें, त्यो केवल अल्लाहलाई मात्र थाहा छ। मेरी आमा, मेरो आँखाको नानी, उहाँलाई मेरो लागि प्रार्थना गर्न अनुरोध गर्दछु।”अहमदको साहसको कदरस्वरूप अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज अस्पतालमै पुगेर उनलाई भेटेका थिए। प्रधानमन्त्रीले उनलाई भने,
“तपाईं धेरै बलिया हुनुहुन्छ। तपाईंको हृदय बलियो छ। तपाईंको साहस प्रेरणादायी छ।”यसैगरी न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले पनि अस्पतालमा पुगेर भेट्दै भने,
“मैले अहिलेसम्म देखेको सबैभन्दा अविश्वसनीय दृश्य यही हो—एक व्यक्ति समुदायमाथि गोली चलाइरहेको बन्दुकधारीतर्फ अगाडि बढेर एक्लैले उसलाई निःशस्त्र बनाउँदै, अरूको ज्यान बचाउन आफ्नो ज्यान जोखिममा राख्छ।
त्यो व्यक्ति साँचिकै नायक हो। उनको साहसका कारण आज धेरै मानिसहरू जीवित छन् भन्नेमा कुनै शंका छैन।”प्रहरीले घटनामा संलग्न जीवित अभियुक्त २४ वर्षीय नविद अक्रमलाई ५९ वटा अभियोगमा मुद्दा दर्ता गरेको छ। तीमध्ये १५ वटा हत्या, आतंकवादी गतिविधि, ज्यान मार्ने उद्देश्यले गम्भीर चोट पुर्‍याउने ४० अभियोग, विस्फोटक राख्ने तथा प्रतिबन्धित आतंकवादी संगठनको प्रतीक सार्वजनिक रूपमा प्रदर्शन गरेको अभियोगसमेत छन्।