१० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको फैसला भएकाे प्रा.डा. भरतराज पहारी नेकपा एमालेकाे निर्विरोध अनुसासन सदस्य
काठमाडौंमा जारी नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय अनुशासन आयोगको नेतृत्व टुंगिएको छ। आयोगको अध्यक्ष पदमा प्रा.डा. भरतराज पहारी एकल उम्मेदवार रहेपछि निर्विरोध चयन भएका छन्।महाधिवेशन निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदमा अरू कुनै उम्मेदवारी नपरेपछि पहारी स्वतः निर्वाचित भएको घोषणा गरिएको हो।प्रा.डा. पहारी यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसका डिनका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०७५ सालमा उक्त मुद्दामा दोषी ठहर गर्दै १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। हाल पहारी पोखरामा होटल व्यवसायमा संलग्न छन्।यस्तै, केन्द्रीय अनुशासन आयोगकै उपाध्यक्ष पदमा चक्रबहादुर पराजुली र सचिव पदमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध चयन भएका छन्।यसैगरी, एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्ष पदमा डा. पुष्पराज कँडेल पनि एकल उम्मेदवारका रूपमा निर्विरोध भएका छन्।
