व्यक्तिगत घटना दर्ता सच्याउन मिल्ने
नाम, जन्ममिति, बसाइँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्याउन मिल्ने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी यसलाई सहज बनाएको छ ।
यसअघि नै ऐन संशोधन भए पनि नियमावली नबन्दा कार्यान्वयन हुन सकेको थिएन । सोमबारको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार यसअघि नै ऐनले व्यक्तिगत घटना दर्ता सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा प्रस्ट नहुँदा वडा कार्यालयले कार्यान्वयन गर्न सकेका थिएनन् ।
‘नियमावली संशोधन भएपछि यसमा प्रस्टता भएको छ,’ उनले भने, ‘अब नाम, थर, जन्ममितिलगायत विवरणमा त्रुटि रहेछ भनेर एकपटकलाई सच्याउन मिल्नेछ ।’ यसका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । खासगरी १४ वर्ष उमेर नपुगेर एसइई दिन नपाएका विद्यार्थीहरूले सच्याउन नमिल्ने प्रावधानका कारण समस्या झेल्दै आएका थिए ।
त्यस्तै, कतिपयको जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा फरक–फरक विवरण भएरसमेत समस्यामा परेका थिए । अब उनीहरूले सच्याउन पाउनेछन् । सरकारले यही साता नियमावली राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएलगत्तै यससम्बन्धी व्यवस्था कार्यान्वयन हुनेछ ।
