सर्टगन, इन्सास र एक थान पिस्तोलसहित शिवराज धमला पक्राउ
शिवराज धमलालाई प्रहरीले बुधबार काठमाडौं तारकेश्वरबाट पक्राउ गरेको थियो । उनी पठाओ चालकका रूपमा काम गर्थे । तर, उनको पक्राउ शैली निकै चाखलाग्दो रहेको छ । अपराध महाशाखामै कार्यरत एक महिला प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत धमलासँग मित्रता गाँस्नुभएको थियो । दुवै जनाबीच सामाजिक सञ्जालमा प्रेमिल कुराकानी चल्न थालेपछि धमला ती महिला प्रहरीप्रति आकर्षित बनेका थिए ।
महिला प्रहरीले धमलालाई भेट्न बोलाएको ठाउँमा पुग्नेबित्तिकै प्रहरी टोलीले धमलालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले उनको डेरा खानतलासी गर्दा सर्टगन, इन्सास र एक थान पिस्तोलसहित रबर गन फेला पारेको थियो । सोही क्रममा धमलाले ग्यास गन भने साथी जीवन चलाउनेको कोठामा रहेको बयान दिएका थिए ।
धमलाको बयानका आधारमा बिहीबार प्रहरीले तीनकुने पुगेर उक्त ग्यास गन बरामद गरेको हो । भदौ २४ गते भएको आन्दोलनका क्रममा लुटपाट, आगजनी, तोडफोड र अराजकता फैलाउने क्रममा प्रहरीका हतियार लुटिएका थिए । ती घटनामा संलग्नको खोजी गर्दै जाँदा प्रहरीका विभिन्न युनिटले भिडिओ, निगरानी फुटेज र सूचनाहरूका आधारमा सयौं व्यक्तिलाई पहिचान गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार हालसम्म प्रहरीले ४ हजारभन्दा बढी भिडियो फुटेज संकलन गरी तिनमा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान सुरु गरेको छ । प्रवक्ता काफ्लेले भन्नुभयो– ‘अराजकता, आगजनी र लुटपाटमा संलग्न जो कोही भए पनि प्रहरी पक्राउ गर्न तयार छ । कुनै व्यक्तिको पेसा, हैसियत वा परिचयले कारबाही रोकिँदैन ।’
अपराध अनुसन्धान शाखाले सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानले आन्दोलनमा पठाओ चालकहरूको सक्रिय संलग्नता देखाएको छ । प्रहरीका अनुसार धमलाले बयान दिँदै आन्दोलनमा पठाओका धेरै राइडर सहभागी भएको उल्लेख गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा आर्थिक कमाइ घटेकाले असन्तुष्ट भई आन्दोलनमा सहभागी भएको बताएका छन् ।
