अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले सोमबार मुद्दा दायर गरेको हो।
उनले सम्पत्ति विवरणमा समेत आफ्नो सम्पत्ति लुकाएको र बुहारीको कम्पनीमा लगानी गरेको आयोगले जनाएको छ। सम्पत्ति विवरणमा सम्पत्ति लुकाएको कसुरमा पनि उनीविरुद्ध अभियोग दर्ता भएको छ । अकुत सम्पत्ति श्रीमती नरमाया श्रेष्ठ तथा बुहारी भावना बरुवालको नाममा राखेकाले आयोगले सम्पत्ति जफतको प्रयोजनका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएको छ। बुहारी बरुवालको नाममा दर्ता भएको फरेस्ट एन्ड इन्भाइरोमेन्ट भक्तपुरका नाममा समेत उनले लगानी गरेकाले त्यो पनि जफतको माग गरिएको छ।
