समाचार

देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो कांग्रेस महाधिवेशनको छुट्टै कार्यतालिका

Spread the love

सुरेस कुमार थपलिया
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको छुट्टै कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिएका छन्। आयोगले पनि उक्त पत्र प्राप्त भएको पुष्टि गरेको छ।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका आयोगलाई जानकारी गराएको हो। प्रस्तावित कार्यतालिकाअनुसार असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने उल्लेख छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिर मसान्तमा सकिने भएकाले विधानअनुसार १५औँ महाधिवेशन गर्न लागेको दाबी गरेको छ। साथै, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया विचाराधीन रहेको विषयसमेत आयोगलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ।
यसैबीच कांग्रेसभित्र महाधिवेशनलाई लिएर दुई फरक कार्यतालिका अघि बढेका छन्। संस्थापन पक्षले यसअघि असोज १८ गतेदेखि आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाउने कार्यतालिका सार्वजनिक गरेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
यसरी पार्टीको महाधिवेशन प्रक्रिया समानान्तर रूपमा अघि बढेपछि कांग्रेसको आधिकारिकता, महाधिवेशनको वैधानिकता र आगामी पार्टी संरचनाबारे विवाद थप जटिल बनेको छ। आधिकारिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतको प्रक्रिया टुंगिन बाँकी रहेकाले आगामी राजनीतिक तथा कानुनी अवस्थाले कांग्रेसको महाधिवेशन प्रक्रियामा प्रभाव पार्ने देखिन्छ।