आज पञ्चमी श्राद्ध, पितृ सम्झँदै तर्पण र पिण्डदान
टिकाराम भन्डारि
काठमाडौं, असोज १५ । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक परम्परा सोह्र श्राद्धअन्तर्गत आज पञ्चमी श्राद्ध गरिँदैछ। विक्रम संवत् २०८३ को पात्रोअनुसार आज आश्विन कृष्ण पञ्चमी तिथि परेको हो। पञ्चमी तिथि दिउँसो २ः३६ बजेसम्म रहने र त्यसपछि षष्ठी तिथि सुरु हुने उल्लेख छ।
सोह्र श्राद्धका क्रममा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षमा आफ्ना दिवंगत आफन्तको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार श्राद्धकर्म सामान्यतः अपराह्न समयमा गर्नुपर्ने धार्मिक विधान रहेको छ। पितृप्रति श्रद्धा, कृतज्ञता र पारिवारिक दायित्व व्यक्त गर्ने अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ।
यस वर्ष सोह्र श्राद्ध असोज ११ गते प्रतिपदा श्राद्धबाट सुरु भएको हो। क्रमशः द्वितीया, तृतीया र चतुर्थी श्राद्ध सम्पन्न भइसकेका छन्। आज पञ्चमी श्राद्धसँगै केही पात्रोमा षष्ठी श्राद्धसमेत उल्लेख गरिएको छ।
पितृ पक्षमा आफ्नो पितृको तिथिमा श्राद्ध गर्ने परम्परा भए पनि कुनै कारणले निर्धारित तिथिमा गर्न नसकिए वैकल्पिक तिथिको व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। त्यसका लागि परिवारको परम्परा र पुरोहितको सल्लाहअनुसार विधि पूरा गर्ने चलन छ।
