व्यावसायिक क्षेत्रमा घरायसी मूल्यमा ग्यास दिँदा निगमलाई प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा
घरायसी र व्यावसायिक दुवै प्रयोजनमा १४.२ किलोको सिलिन्डर प्रयोग हुँदै आएको छ। विभागले घरायसीका लागि ५ र १४.२ किलो तथा व्यावसायिक प्रयोजनका लागि १९ किलोदेखि ४५० किलोसम्मका सिलिन्डरको मापदण्ड बनाएको छ।ग्यास अभाव दोहोरिएपछि सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै तौलका एलपी ग्यास सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरी ग्यास वर्गीकरण, भण्डारण तथा वितरण प्रणालीबारे अध्ययन भइरहेको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी तथा नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि छन्।
सरकारले २०७० सालमा रातो र नीलो सिलिन्डरमार्फत घरायसी र व्यावसायिक ग्यास छुट्याउने प्रयास गरे पनि कार्यान्वयन हुन सकेको थिएन। अहिले पुनः वर्गीकरणको तयारी अघि बढाइएको हो।
नेपाल आयल निगमका अनुसार कुल ग्यास खपतको करिब ३० प्रतिशत व्यावसायिक र ७० प्रतिशत घरायसी प्रयोजनमा प्रयोग हुन्छ। व्यावसायिक क्षेत्रमा घरायसी मूल्यमा ग्यास दिँदा निगमलाई प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा भइरहेको निगमको भनाइ छ।
