भारी वर्षाले देशभर जोखिम बाढी पहिरोसँगै जनधनमा क्षति
टिकाराम भन्डारि
काठमाडौं । पछिल्ला दिनमा भइरहेको भारी वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर बाढी, पहिरो, भारी वर्षा, चट्याङलगायत ४० वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन्।

भारी वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। मकवानपुरमा पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग प्रभावित भएको छ भने कञ्चनपुरको बाढी जोखिमयुक्त क्षेत्रमा रहेका १४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। केही जिल्लामा पहिरोको जोखिमका कारण रातिको यातायातसमेत रोकिएको छ ।यसैबीच, मौसम पूर्वानुमानअनुसार वर्षा अझै केही दिन जारी रहने भएकाले नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

चितवनबाट काठमाडौं जाने मुख्य नारायणगढ–मुग्लिन–धादिङ–काठमाडौं सडकखण्डमा यात्रा निकै जोखिमपूर्ण छ।
नारायणगढ–मुग्लिन खण्ड: धारापानी, सिमलधारा, तुइनखोला, नाम्सीखोलालगायत ठाउँमा पहिरो तथा ढुंगा खस्ने समस्या छ। केही स्थानमा एकतर्फी यातायात सञ्चालन भए पनि अवस्था जोखिमपूर्ण छ मुग्लिन–धादिङ–काठमाडौंतर्फ: कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायत स्थानमा पहिरोका कारण सडक अवरुद्ध रहेको पछिल्लो सडक विभागसम्बन्धी विवरणमा उल्लेख छ। कृष्णभीर: पहिरोका साथै सडकको संरचनामा क्षति पुगेकाले तत्काल यातायात सञ्चालन गर्न जोखिम रहेको जनाइएको छ। सडक खुलाउन सुरक्षाकर्मी तथा सडक विभागका टोलीले पहिरो हटाउने काम गरिरहेका छन्, तर निरन्तर वर्षाका कारण नयाँ पहिरो खस्ने क्रम जारी छ। त्यसैले अहिले चितवनबाट काठमाडौं जाने यात्रा अघि नबढाउनु नै सुरक्षित हुन्छ; सडक खुल्यो भन्ने आधिकारिक सूचना आएपछि मात्र यात्रा गर्नु उपयुक्त हुन्छ।

