नागरिकको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालयका सबै संयन्त्र तयारी अवस्थामा
श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री निसा मेहताले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिइन्।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशका विभिन्न स्थानमा भइरहेको भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छन्।
प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग निरन्तर समन्वय गर्दै प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको उनले बताइन्। जोखिमयुक्त क्षेत्रमा औषधि, जीवनजल, सर्पदंशविरुद्धको औषधिलगायत अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात र द्रुत प्रतिकार्य टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ।
मन्त्री मेहताले प्रसूतिको समय नजिक रहेका गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई विशेष सावधानी अपनाउन र आवश्यक औषधि पर्याप्त मात्रामा साथमा राख्न आग्रह गरेकी छन्। उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालयका सबै संयन्त्र तयारी अवस्थामा रहेको बताइन्।
