समाचार

१५औँ महाधिवेशनमा DLA चितवनले निर्वाचन प्रक्रियामा सहभागी नहुने

Spread the love

अमर कैनि
भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (DLA) चितवनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचन प्रक्रियामा सहयोग तथा समन्वय गर्न नसक्ने जनाएको छ।
DLA चितवनका सचिव श्रीराम सापकोटाले जिल्ला निर्वाचन अधिकृतलाई पठाएको पत्रमार्फत यस्तो जानकारी गराएका हुन्। पत्रमा वडा तहको निर्वाचन कार्य सम्पन्न भइसकेपछि मात्रै DLA चितवनलाई समावेश गरी औपचारिकताका लागि पत्र पठाइएको उल्लेख छ। निर्वाचन प्रक्रियामा जिल्ला निर्वाचन समितिको नामबाट सीमित व्यक्तिहरूले मात्र काम अघि बढाएको भन्दै संस्थाले निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र लोकतान्त्रिक विधिबाट सम्पन्न हुने विषयमा प्रश्न उठाएको

DLA चितवनले आफूलाई रोहबर तथा साक्षीका रूपमा सहभागी गराई निर्वाचन समितिलाई सहयोग गर्न नसक्ने निर्णय गरेको जनाएको छ। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन हुँदैछन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा सम्पन्न वडा अधिवेशनका क्रममा केही स्थानमा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको विषयमा प्रश्न उठेको छ। शिक्षकलाई राजनीतिक दलको निर्वाचन प्रक्रियामा प्रत्यक्ष रूपमा जिम्मेवारी दिइनु प्रचलित शिक्षा कानुन र शिक्षकको आचारसंहितासँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा सरोकारवालाले स्पष्टता मागेका छन्।

शिक्षा मन्त्रालयले हालै राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकको गतिविधिबारे शिक्षा नियमावली, २०५९ को नियम १३३ लगायतका प्रावधान स्मरण गराउँदै निगरानी तथा आवश्यक कारबाहीका लागि निर्देशन दिएको समाचार सार्वजनिक भएको छ।

यता नेपाली कांग्रेसको निर्वाचन निर्देशिका, २०८३ ले निर्वाचन अधिकृत तथा मतदान अधिकृत नियुक्ति र उनीहरूको जिम्मेवारीसम्बन्धी व्यवस्था गरेको छ। निर्देशिकाअनुसार निर्वाचन अधिकृतले आवश्यकता अनुसार मतदान अधिकृत नियुक्त गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ।

यस अवस्थामा चितवनमा शिक्षकलाई मतदान अधिकृत बनाउँदा सम्बन्धित शिक्षकको कानुनी हैसियत, राजनीतिक दलको निर्वाचनमा जिम्मेवारी सम्हाल्न पाउने–नपाउने अवस्था र नियुक्तिको आधारबारे स्पष्ट पार्नुपर्ने देखिन्छ। साथै, निर्वाचन प्रक्रिया निष्पक्ष र विवादरहित बनाउन कानुन व्यवसायी वा अन्य स्वतन्त्र व्यक्तिलाई प्राथमिकता नदिइनुको कारणबारे पनि प्रश्न उठेको छ।

चितवन कांग्रेसले भने वडा अधिवेशनलाई पार्टीको विधान, नियमावली, निर्वाचन निर्देशिका तथा लोकतान्त्रिक मूल्यमान्यताअनुसार निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैले शिक्षकलाई मतदान अधिकृत बनाउने निर्णय कुन कानुनी आधारमा भयो, नियुक्ति कसले गर्‍यो र कानुन व्यवसायीलाई किन प्राथमिकता दिइएन? भन्ने प्रश्नको आधिकारिक जवाफ सम्बन्धित निर्वाचन अधिकारी तथा चितवन कांग्रेसबाट आउन आवश्यक देखिएको छ। नेपाली काग्रेस चितवन बाट मतदान अधिकृतका नाम उल्लेख गरेका छन्। सूचीअनुसार क्रमशः देखिएका नाममध्ये केदार नाथ अधिकारी, डा. एकनारायण पौडेल, लालकृष्ण अधिकारी, कण्णहरी अधिकारी, माधव सिग्देल, उर्के क्षेत्री, रविन्द्र देवकोटा, कृष्ण निडर, दामोदर रिजाल, प्रकाश पराजुली, पूर्णेन्द्र घिमिरे, सुदीप दाहाल, आनन्द सापकोटा, मोहन अधिकारी, अच्युत पौडेल, गोविन्द पण्डित, केदारमणि अर्याल, सञ्जय पाण्डे, डा. सन्दीप बाँस्ते, भानुभक्त कँडेल, बालकृष्ण सुवेदी, भोलानाथ सापकोटा, कृष्ण भूपाल, सर्वहित पण्डित, देवेन्द्र घिमिरे, धनश्वर सापकोटा, प्रेम न्यौपाने पौडेल, प्रमोद अधिकारी, सन्दीप घिमिरे, सौजन्य पण्डित, भरत रिजाल, कृष्णप्रसाद अर्याल, ज्ञानबहादुर भुजेल, हरिराम घिमिरे, माधवप्रसाद न्यौपाने, कण्णहरी कोइराला, सुनिल जोशी, शरदचन्द्र पराजुली, जिवाहर ढकाल, इन्द्रप्रसाद पौडेल, खेमेन्द्र शर्मा र भिम पण्डित लगायतका शिक्षक छन् ।