उपेन्द्र यादवको आह्वान : मधेसका अधिकारका लागि फेरि आन्दोलन गर्नुपर्ने
टिकाराम भान्डारि
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका अधिकार र स्वशासनका लागि मधेसी जनता फेरि आन्दोलनमा उत्रनुपर्ने बताएका छन्। शनिबार वीरगन्जमा आयोजित नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले यस्तो आह्वान गरेका हुन्।
यादवले वर्तमान मधेस प्रदेश आफूहरूले खोजेको जस्तो नभएको दाबी गर्दै शासन र प्रशासनमा मधेसी समुदायको पर्याप्त पहुँच हुनुपर्ने बताए। अधिकार मागेर मात्र प्राप्त नहुने भन्दै उनले अधिकारका लागि संघर्ष गर्न कार्यकर्तालाई तयार रहन आग्रह गरे।
उनले कांग्रेस र कम्युनिस्ट दलहरू विगतमा सत्तामा मिलेर देश सञ्चालन गरेको भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति आलोचना गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले संघीयताबारे फरक–फरक धारणा राखेको आरोप लगाए।
कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार व्यवहारमा कमजोर बनेको दाबी गर्दै सरकारलाई रास्वपाभित्रैबाट असहयोग भइरहेको आरोप लगाए। उनले रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरी समानान्तर गतिविधि गरेको दाबीसमेत गरे।
