साल्ट ट्रेडिङले खुद्रा थोक व्यापारीलाई प्रतिकिलो १०५ रुपैयाँमा चिनी बिक्रि गर्ने
सबिना प्रजा
भाटभटेनीका अनुसार काठमाडौं उपत्यकासहित मेचीदेखि धनगढीसम्म रहेका सबै स्टोरमा प्रतिकिलो ११० रुपैयाँका दरले चिनी किन्न सकिनेछ।दसैं–तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई चिनीमा सहुलियत दिने व्यवस्था गरिएको छ। बजारका कतिपय ठाउँमा प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म चिनी बिक्री भइरहेका बेला भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी उपलब्ध गराउने घोषणा गरेको हो।

कम्पनीले चाडपर्वको समयमा उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्यमा चिनी बिक्री गर्न थालेको जनाएको छ।भाटभटेनीको यो व्यवस्थासँगै चाडपर्वका बेला चिनीको बढ्दो मूल्यबाट उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। दसैं–तिहारमा घरायसी प्रयोगसँगै मिठाई, सेलरोटी तथा विभिन्न परिकारका लागि चिनीको माग बढ्ने भएकाले सहुलियत मूल्यको व्यवस्थालाई उपभोक्ताले चासोका साथ हेरेका छन्।यता सरकारले पनि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चिनीको आपूर्ति बढाएर सहुलियत मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाएको छ। साल्ट ट्रेडिङले खुद्रा तथा थोक व्यापारीलाई प्रतिकिलो १०५ रुपैयाँमा चिनी उपलब्ध गराउन थालेको जनाएको छ।
सरकारी व्यवस्थाअनुसार विभिन्न बिक्री केन्द्रबाट उपभोक्ताले प्रतिलिलो ११० रुपैयाँमा चिनी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भाटभटेनी, बिक्री केन्द्रमा पनि यही दरमा चिनी उपलब्ध रहेको छ।बजारमा केही स्थानमा तुलनात्मक रूपमा महँगो चिनी बिक्री भइरहेका बेला सरकारी तथा निजी क्षेत्रबाट समान रूपमा प्रतिकिलो ११० रुपैयाँको दरमा चिनी उपलब्ध हुन थालेपछि दसैं–तिहारको किनमेलमा उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।चाडपर्वको समयमा अत्यधिक मागका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले सहुलियत आपूर्ति र बजार अनुगमनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। पर्याप्त आपूर्ति कायम राख्न सके चिनीको बजार मूल्यलाई थप नियन्त्रणमा राख्न सकिने अपेक्षा गरिएको छ।
