अधिवेशन उद्घाटनका दिन सम्म पनि शेरबहादुर देउवालाई अधिवेशनमा ल्याउने कोसिस गर्ने
सुरेस कुमार थपलिया
समानान्तर महाधिवेशन गर्ने घोषणा गरेको असन्तुष्ट पक्षका नेता शेरबहादुर देउवालाई पार्टीमा मिलाउन महाधिवेशनको दिनसम्म पनि प्रयास गर्ने नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन्।
असोज १६ गतेबाट सुरु हुने भनिएको कांग्रेसको महाधिवेशनका लागि आगामी शनिवारबाट महाधिवेशन प्रतिनिधि चयन हुँदै छन्। नौ महिनादेखि अलग्गै गतिविधि गरिरहेको देउवा समर्थित समूहले मङ्सिरमा महाधिवेशन गर्ने घोषणा गरेको छ।
देउवा समूहमा खुलेका केही नेताहरू पार्टीमा फर्किएपछि बिहीवार सभापति गगन थापाले महाधिवेशनसम्म देउवालाई पनि फर्काउन आफूले प्रयास गर्ने वाचा गरे।
“म त १६ गतेसम्म कोसिस गर्छु। तपाईँ हामी सबै मिलेर कोसिस गरौँ। अधिवेशन उद्घाटनका दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामी गरौँ। अरू नेताले पनि कोसिस गरौँ। सबैलाई जोड्ने कोसिस गरौँ,” थापाले भने
