समाचार

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि सुरू देशभर वडा अधिवेशन

Spread the love

सबिना प्रजा
काठमाडौं, असोज ३।

नेपाली कांग्रेसको १५औँमहाधिवेशनअन्तर्गतको वडा अधिवेशन प्रक्रिया आजदेखि देशभर सुरु भएको छ। कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न हुँदैछ। वडा अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन हुनेछन्। कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र त्यसपछि जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म आयोजना हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।
यसैबीच, महाधिवेशन प्रक्रियालाई लिएर कांग्रेसभित्र फरक धारणा पनि सार्वजनिक भएका छन्। पूर्वसभापति शेरबहादुर देउवाले महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् भने पार्टीको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।