समाचार

उद्धार, राहत पुनर्निर्माण का लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने

Spread the love

सबिना प्रजा

पछिल्लो २० देखि २५ वर्षमा नेपालले निर्माण गर्दै आएको समृद्धिको अवधारणालाई पछिल्लो विपत्तिले ठूलो धक्का दिएको छ । उनले नेपालले जलवायु परिवर्तनका कारण गम्भीर क्षति बेहोर्नुपरेको बताएका छन् ।परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले बाढीले नेपालको विकास र समृद्धिको दीर्घकालीन योजनामाथि गम्भीर असर पारेको बताएका हुन् ।

यसैबीच बिहीबार सार्वजनिक भएको विश्व मौसम विशेषता अध्ययन को प्रारम्भिक विश्लेषणले पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रमा भएको हिमनदी र चट्टानको विनाशकारी पतनलाई सम्भावित रूपमा तीव्र बनाउन भूमिका खेलेको देखाएको छ । अध्ययनका अनुसार तापक्रम वृद्धि, हिमनदी पग्लिनु र हिमाली क्षेत्रमा जमिनभित्रको स्थायी बरफ पग्लिनुले पहाडको स्थायित्व कमजोर बनाएको हुन सक्छ ।

‘नेपालको समृद्धि नदी करिडोरसँग जोडिएको छ’

मन्त्री खनालले नेपालको विकासको ठूलो हिस्सा नदी करिडोरसँग जोडिएको बताएका छन् । उनका अनुसार उत्तरदेखि दक्षिणसम्मका प्रमुख सडक तथा पूर्वाधार आयोजनाको अवधारणा पनि नदी करिडोरसँग जोडिएको छ ।नेपालले दुई छिमेकी मुलुकसँग निर्माण तथा योजना गरिरहेका पुल र अन्य पूर्वाधारको कनेक्टिभिटीसमेत नदी करिडोरमा निर्भर रहेको उनले बताए ।पछिल्लो ३० देखि ४० वर्षमा नेपालको बस्ती र बजार विकास पनि नदीका बेसिन तथा करिडोर आसपास केन्द्रित हुँदै गएको उनको भनाइ छ ।हाइड्रोपावर पनि नदीमै आधारित भएकाले नेपालको विद्युत् उत्पादन, आन्तरिक खपत तथा निर्यातबाट समृद्धि हासिल गर्ने योजनासमेत हिमालयन नदी करिडोरसँग प्रत्यक्ष जोडिएको उनले बताए ।

जलवायु परिवर्तन र क्षतिपूर्तिको मुद्दा

बाढीको कारण र प्रभावबारे सरकारले थप अध्ययन गरिरहेको खनालले जानकारी दिए । यस विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तको विषय उठाउने तयारी गरिरहेको छ ।वैज्ञानिकहरूको पछिल्लो प्रारम्भिक अध्ययनले पनि अगस्ट २६ को विपत्तिमा जलवायु परिवर्तन महत्वपूर्ण पृष्ठभूमि कारक भएको देखाएको छ । यद्यपि अध्ययनले जलवायु परिवर्तनलाई घटनाको एकमात्र कारण भने मानेको छैन । सन् २०१५ को ठूलो भूकम्पले समेत पहाडको स्थायित्व कमजोर पारेको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।संयुक्त राष्ट्रसंघमा नेपालको मुद्दा उठाउने तयारीयसै पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा छ ।संसदीय समितिको बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल भएको थियो ।

मन्त्री खनालले महासभामा नेपालको सहभागिता जलवायु परिवर्तनसहित नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुने बताए ।उनले हिमालय क्षेत्रमा नेपाल तथा विदेशमा भएका विभिन्न अध्ययन अनुसन्धानलाई एकीकृत गरेर त्यसका आधारमा नेपालको स्पष्ट र राष्ट्रिय धारणा निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।यसअघि पनि खनालले अन्तर्राष्ट्रिय कूटनीतिक समुदायलाई ब्रिफिङ गर्दै भोटेकोशी बाढीलाई ‘हिमालयन सुनामी’ भनेका थिए । उनले विपत्तिपछि नेपाललाई खोज तथा उद्धार, राहत र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका थिए ।