समाचार

१५औँ महाधिवेशनका लागि पत्रकार सम्मेलन सम्पन्न संगठन सुदृढीकरणमा जोड- राजेस्वर खनाल

Spread the love

सबिना प्रजा

चितवन — नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले संगठन सुदृढीकरण, सदस्य विस्तार तथा वडा तहसम्मका गतिविधिलाई तीव्रता दिएको जनाएको छ।

जिल्ला कार्यसमिति चितवनले पत्रकार भेटघाटमार्फत महाधिवेशनको तयारीसँगै जिल्लामा सञ्चालन गरिएका विभिन्न राजनीतिक, सांगठनिक तथा सामाजिक गतिविधिबारे नेपालि काग्रेसका जिल्ला सचिव ध्रुव पाेख्रेलले जानकारी दिनुभयाे ।

निर्वाचनकाे लागि नेपाली काग्रेस केन्द्रीय कार्यलयबाट अधिवत्ता देव महत खटाएकाे नेपाली काग्रेसकाे चितवनले जनाएकाे छ ।

कांग्रेस चितवनका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनदेखि पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मको प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवनको महत्वपूर्ण आधारका रूपमा लिँदै यसलाई निष्पक्ष, पारदर्शी, अनुशासित र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्नुपर्नेमा जिल्ला कार्यसमितिले जोड दिएको छ।

जिल्ला कार्यसमितिले पार्टी सदस्य तथा कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यले विभिन्न अभियान, प्रशिक्षण, अन्तर्क्रिया तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। वडा सभापति, सचिव तथा कोषाध्यक्षलाई क्षेत्रगत प्रशिक्षण, जनप्रतिनिधिसँगको अन्तरक्रिया तथा विभिन्न दिवसका अवसरमा विचार गोष्ठी र छलफलसमेत आयोजना गरिएको कागजातमा उल्लेख छ।

त्यसैगरी कांग्रेस चितवनले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कालिका नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट करिब १ हजार २०० जना प्रत्यक्ष लाभान्वित भएको उल्लेख छ। भरतपुर तथा जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर, राष्ट्रिय आधारभूत विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, जातीय समता दिवस तथा जनजाति समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिएको पनि उल्लेख गरिएको छ।

कागजातमा पार्टीका अग्रज तथा दिवंगत नेताहरूको स्मृति दिवसमा कार्यक्रम आयोजना, पार्टी सदस्य तथा कार्यकर्ताका परिवारमा दुःखद् घटना हुँदा शोक तथा श्रद्धाञ्जली कार्यक्रम, विपन्न तथा बिरामी पार्टी सदस्यलाई आर्थिक सहयोगलगायतका गतिविधि गरिएको विवरणसमेत समेटिएको छ।

समावेशी सहभागितामा जोड

आगामी वडा अधिवेशनबाट महिला, युवा तथा दलित समुदायको प्रतिनिधित्व बढाउने तयारी गरिएको कांग्रेस चितवनले जनाएको छ। कागजातअनुसार आगामी अधिवेशनबाट १८ जना महिला वडा उपसभापति चयन हुने व्यवस्था गरिएको तथा १८ जना युवा पुस्ताका लागि वडा कार्यसमितिमा स्थान सुनिश्चित गरिएको उल्लेख छ। दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक वडामा कम्तीमा एक जना दलित सदस्यलाई प्रत्यक्षतर्फ वडा कार्यसमितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको पनि जनाइएको छ।

चितवनबाट कांग्रेसको १४औँ महाधिवेशनमा करिब २७ हजार ५०० जना सक्रिय सदस्य सहभागी रहेको उल्लेख गर्दै आगामी अधिवेशनमा संगठनलाई थप व्यवस्थित र समावेशी बनाउने लक्ष्य राखिएको छ।

जिल्ला कार्यसमितिले वडा अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको संगठनात्मक एकता, लोकतान्त्रिक संस्कार, आपसी सद्भाव र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

पत्रकार भेटघाटमा जिल्ला सभापति राजेश्वर खनालले महाधिवेशन सफल बनाउन सबै नेता, कार्यकर्ता तथा सदस्यबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस चितवनले आगामी अधिवेशनलाई व्यवस्थित, मर्यादित र लोकतान्त्रिक रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ।